
वैदिक साहित्यलाई अपौरुषेय उपमाले सम्बोधन गर्ने गरिन्छ जसको अर्थ हुन्छ धर्म तथा अधर्मको निर्णय गर्नहेतू स्वयम् भगवानको मुखारविन्दबाट प्रस्फुटित वाणी । वेद, उपनिषद्, पुराणादि शास्त्रहरुनै वैदिक सनातन हिन्दु धर्मका आधारस्तम्भका रुपमा मेरुदण्डीय भुमिका निर्भाह गरेका छन् । तत् तत् शास्त्रहरुको व्याख्या अनादि कालदेखि विभिन्न ऋषिमुनीहरुले गर्दै आएको पाइन्छ । वैदिक शास्त्रहरुमा भगवद् अवतरणको प्रमुख लक्ष्य नै धर्मको स्थापना तथा पुर्नस्थापना गर्नु हो भनेर भनिएको छ । श्रीमद्भगवद्गीतामा भगवान् श्रीकृष्णले घोषणा गर्नुभएको छ –यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत । अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ।। ( भ.गी. ४.७) जसको अर्थ हुन्छ हे भरतवंशी अर्जुन ! जहाँ जहाँ र जहिले जहिले धर्मको पतन र अधर्मको उन्नति हुन लाग्छ त्यस बखत त्यस ठाउँमा मैले अवतार लिन्छु । भगवानले धर्मको स्थापना र पुर्नस्थापनाको उद्घोष गर्दैगर्दा धर्मको वास्तविक अर्थ जान्नु पनि उत्तिकै महत्वपूर्ण र सान्दर्भिक हुन जान्छ । धर्मको यस व्याख्यानमा छुटाउनै नहुने नामहरु मध्मे दुई प्रमुख नामहरु हुन ः भगवान वराहदेव एवम् महर्षि कश्यप । भगवान् वराहदेव त स्वयम् वेद–वितान–मूर्ति नामले जानिनुहुन्छ भने कश्यप मुनि यस्तो महान व्यक्तित्व हुनुहुन्छ जसका शिक्षा र मार्गदर्शन समस्त वैदिक सनातन धर्मावलम्वीका लागि महत्वपूर्ण सम्पदा र प्रेरणाका स्रोत बनेका छन् ।
सनातन हिन्दु धर्मका शास्त्रअनुसार ब्रह्माजीको आयुलाई एक सय वर्षको अवधी भनेर भनिएको छ, जसको एक दिनमै सत्य, त्रेता, द्वापर तथा कलियुगको चक्र एक हजार पटक घुम्ने बताईएको छ । कलियुगको अवधी ४,२७,००० वर्षको , द्वापरयुगको अवधि कलिको दुई गुणा अर्थात ८,६४,००० वर्षको , त्रेताको १२,९६,००० वर्षको र सत्ययुगको अवधी १७,२८,००० वर्षको हुने गर्दछ । ब्रह्माजीको एक दिनमा यस्ता चर्तुयुगहरु एक हजारपटक घुम्ने गर्दछन् भने ७१ चर्तुयुगको अवधीमा एक मनुले शासन गर्ने गर्नुहुन्छ । वर्तमान मनु सातौँ मनु हुनुहुन्छ जसको नाम हो वैवस्वत मनु । प्रथम मनु स्वयम्भुव मनुको शासन अवधिमा पृथ्वी सम्पूर्ण रुपले जलमा डुब्नुभएको थियो । त्यो वखत पृथ्वीलाई उद्धार गर्न साक्षात भगवान विष्णुले आदि वराह अर्थात स्वेत वराहको रुपमा अवतार धारण गर्नुभएको थियो । छैँठौ मनु चक्षुषा मनुको पालामा जब हिरण्याक्ष नाम गरेको असुरले तीनै लोकमा आफ्नो दवदबा कायम राख्दै वेदपुराणको ज्ञानलाई नष्ट गर्न तल्लीन थियो उक्त समयमा भगवानले दोस्रो पटक रक्त वराह अर्थात नील वराहको रुपमा वराह अवतार धारण गर्नुभएको थियो । दुवै अवतारको लक्ष्य पृथ्वीमा धर्मको संरक्षण गर्नु नै रहेको स्पष्ट हुन्छ । त्यसो भए के हो त धर्म ? के कुरालाई धर्म भनेर बुझ्ने ? धर्मको मर्म कसले बुझाउँन सक्छ ? यस्ता यावत प्रश्नहरुको एक वाक्यमा उत्तर वैदिक शास्त्रमै पाईन्छ – तर्कोऽप्रतिष्ठः श्रुतयो विभिन्ना नैको ऋषिर्यस्य मतं प्रमाणम्। धर्मस्य तत्त्वं निहितं गुहायाम् महाजनो येन गतः सः पन्थाः।। – महाभारत वनपर्व ३१३.११७) । केवल तर्कले मात्र धर्मको गुढ रहस्य बुझ्न असम्भव छ । अतः महाजनहरुले देखाएको मार्ग अवलम्बन गर्नु नै धर्म जान्ने निर्विकल्म बाटो हो । तर को हो त महाजन ? श्रीमद्भगवद्गीतामा महाजनहरुको व्याख्या यसरी गरिएको छ– बहूनां जन्मनामन्ते ज्ञानवान्मां प्रपद्यते । वासुदेवः सर्वमिति स महात्मा सुदुर्लभः (भ.गी. ७.१९) । यस श्लोकमा महाजन महात्माहरु भनेर त्यस्ता व्यक्तिहरुलाई भनिएको छ जसले भगवानलाई नै सम्पूर्ण कारणहरुका कारण ठानेर उहाँको शरण लिएका छन् । यस व्याख्यामा कश्यप ऋषिको नाम अग्रणी श्रेणीमा आउने गर्दछ ।
कश्यप ऋषिलाई शास्त्रमा सप्तर्षिमध्ये एक भनेर सम्बोधन गरिएको छ । श्रीमद्भागतमा विभिन्न प्रसंगमा भगवान विष्णु र शिवजीको महान भक्तको रुपमा पनि कश्यप ऋषिको गुणगान गरिएको छ । श्री श्रीमद् अभयचरणारविन्द भक्तिवेदान्त स्वामी प्रभुपादले श्रीमद्भागवत्कोे तात्पर्यमा वर्णन गर्नुहुन्छ ः कश्यप मुनि भगवानको महान भक्त हुनुहुन्छ । वर्तमान मन्वन्तरमा कश्यप मुनि प्रजापतिमध्ये एक महत्वपुर्ण प्रजापति पनि हुनुहुन्छ जसले दिती, अदिती लगायत दक्ष प्रजापतिका १३ छोरीहरु विवाह गर्नुभएको थियो । अदितीको गर्भबाट इन्द्र, वामन लगायतका देवताहरुको जन्म भयो भने दितीको गर्भबाट दैत्यहरुको । भगवानको वहान गरुणदेव देखि लिएर यस ब्रह्माण्डका अनेक जीवहरुको जन्म कश्यप ऋषिका सन्तानको रुपमा भएको हो । कश्यप मुनिबाट विस्तरित वंशावलीलाई कश्यप गोत्रीय भनेर सम्बोधन गर्ने गरिन्छ । कश्यप ऋषिको महानताको गुणगानको कुनै सिमा नै छैन् जसको पुत्रको रुपमा यस संसारमा आउन स्वयम् भगवान नै लालायीत हुनुहुन्छ । भगवान वामनदेवले कश्यपको पुत्रको रुपमा यस संसारमा अवतरण धारण गर्नुभएको थियो । भनिएको छ चाहे देवकी वासुदेवलाई होस, चाहे दशरथ कौश्ल्यालाई , चाहे कर्दम देवहूतीलाई वा कश्यप अदितीलाई भगवानले मातापिताको रुपमा वात्सल्य सुखको आनन्द तिनै व्यक्तिहरुलाई दिनुहुन्छ जो उहाँका अनन्य भक्त छन् । जसले जस्तोसुकै अवस्थामा पनि धर्मको पथलाई परित्याग गर्दैनन् ।
वास्तवमा सनातन धर्म यति महान, विशाल र वैज्ञानिक छ , यसमा जोकोही पनि अटाउन सक्दछन् । धर्म भनेको नै स्वभाविक धारण हुने चिज हो । जसरी पानीमा तरलता स्वभाविक गुण हो, अग्निमा ताप, चिनीमा गुलियोपन, नुनमा नुनिलोपन आदि, ठीक त्यसरी नै हरेक जीवमा धर्म स्वभाविक रुपमा रहन्छ । धर्म नरहनुको अर्थ हो अस्तित्व सिद्धिनु । जुन दिन चिनीमा गुलियोपन रहँदैन् त्यो दिन चिनी चिनी रहँदैन् । यसरी चौरासी लाख जन्मका फन्दामा परेका जीवलाई जन्म मृत्युको चक्रबाट मुक्ति दिने उपाय पनि धर्म नै हो । धर्मको सबैभन्दा उत्कृष्ट फल भनेको शुद्ध भगवद् प्रेम नै हो । नारद भक्तिसुत्रमा भनिएको छ ः स तु अस्मिन परम प्रेम रुप । भगवानको शुद्ध प्रेम गुणातीत अर्थात सत्व, रज र तम यी तीनै गुणभन्दा माथि हुन्छ । तर, यो भौतिक संसारमा सबैजनाले गुणातीत स्थिती देखाउन सक्दैनन् त्यसैले क्रमिक विकासका लागि तमोगुण प्रधान भएका व्यक्तिले धर्मको तमोगुणमय प्रकृया अवलम्बन गर्दै विस्तारै विस्तारै प्रगती गर्ने विधान शास्त्रमा पाइन्छन् भने रजोगुण प्रधान व्यक्तिलाई रजोगुणमय र सत्वगुण प्रधान भएकालाई सत्वगुणमय विधान । हामीले गर्ने देवीदेवता, कुल पितृ, ग्रहनक्षत्र, प्रकृती तथा भगवद् अवतार आदिको पुजा कहिँ न कहिँ यहि सोच र सिद्धान्तबाट प्रेरित छन् । अतः हामीले हाम्रा कुल पितृ, ग्रहनक्षत्र, प्रकृती तथा भगवद् अवतार आदिको पुजालाई कदापी त्याग गर्नुहुँदैन् । सनातन धर्मको सबैभन्दा सुन्दर पक्ष पनि यहि हो । यसो भन्दै गर्दा देश, काल तथा पात्रअनुसार हाम्रा पुजाविधीहरुलाई थप शास्त्रीय वैज्ञानिक तबरले समयसापेक्ष गराउनु पनि उत्तिकै महत्वपूर्ण कुरा हो । वर्तमान २१ औँ शताब्दीमा हाम्रा शास्त्रमा भएका पुजा, ध्यान, योग तथा जपविधीहरु साँच्चिकै वैज्ञानिक महत्वका रहेछन् भनेर दिनानुदिन प्रमाणित हुँदै गैरहेको छ । हाम्रा पूर्वजहरुले सिकाएका योग तथा ध्यानका विधीहरु संसारभर वैज्ञानिक तवरले अभ्यास भैरहेका छन् । हामीले मर्दापर्दा जप गर्ने शिव, दुर्गा, विष्णु, कृष्ण, राम आदि नामहरु आज संसारले जप गर्न लागिसकेको छ । यस्तो परिपेक्षमा हामीले पनि हाम्रा पुजा तथा ध्यान विधीहरु समयसापेक्ष गर्दै लग्यौँ भने हाम्रो संस्कार संस्कृती साँच्चै दीर्घकालीन हुन सक्दछ । अन्ततोगत्वाः हामीले यो कुरा भुल्नु हुँदैन –स वै पुंसां परो धर्मो यतो भक्तिरधोक्षजे, मानव जगतको सर्वोच्च धर्म भनेको नै भगवानको प्रेममय भक्तिसेवा गर्नु हो । प्रेम नै धर्मको सर्वोच्च रुप हो त्यो चाहे भगवानलाई गरियोस् वा भगवानका सन्तती जीवहरुलाई । हामिले भगवान् वराहदेव र कश्यप ऋषी दुवैका शिक्षाहरुमा यही सन्देश प्रतिबिम्वीत भएको पाउँदछौँ ।
सबैलाई कुलदेवताको कृपा मिलोस भन्ने कामना गर्दछु । कृष्णे मतिरस्तु ।
सदैव जपौँ ,
हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे , हरे राम हरे राम राम राम हरे हरे ।
र खुसी रहौँ ।
भण्डारी कुल समाजले प्रकाशन गर्ने स्मारीकाका लागि उक्त कुल समाज जहाँ प्रदीप भण्डारी (परमेश्वर अच्युत दास ) को जन्म भाईको थियो, त्यसका लागी कुल पूजाको पूर्वसंध्यामा परमेश्वर अच्युत दासले लेखेको लेख